निम्सदाई : ‘Nothing Is Impossible’ को जीवनदर्शन
-
ककनी खबर
- सोम, १८ साउन २०८३
भाग १ : एउटा जीवनदर्शनको जन्म
३० जुलाई २०२६ मा पाकिस्तानको 'ब्रड पिक' (Broad Peak) हिमालमा आएको विनाशकारी हिमपहिरोले विश्व पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबायो। उक्त दुर्घटनामा कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’ सहित १० जना पर्वतारोहीले ज्यान गुमाए। यो केवल एक दुःखद दुर्घटना मात्र थिएन; यसले विश्व पर्वतारोहण समुदायका अनुभवी, समर्पित र उच्च व्यावसायिक दक्षता भएका व्यक्तित्वहरूलाई एकैपटक गुमाएको पीडादायी क्षणका रूपमा इतिहासमा स्थान बनायो।
इतिहासले धेरै विजेतालाई सम्झन्छ। केहीलाई उनीहरूले बनाएका कीर्तिमानका कारण सम्झन्छ। तर विरलै यस्ता व्यक्तित्व जन्मन्छन्, जसले एउटा राष्ट्रले आफ्नै सम्भावनालाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिन्छन्। निर्मल पुर्जा, अर्थात् ‘निम्सदाई’, त्यस्तै दुर्लभ व्यक्तित्व थिए। उनले केवल विश्वका सर्वोच्च हिमालहरू आरोहण गरेनन्; उनले नेपाली नेतृत्व, साहस र क्षमतामाथिको विश्वको दृष्टिकोणलाई नयाँ उचाइमा पुर्याए।
नेपाल विश्व पर्वतारोहणको केन्द्र हो। संसारका १४ वटा आठ–हजारे हिमालमध्ये आठ वटा नेपालमै अवस्थित छन्। दशकौँदेखि विश्वका उत्कृष्ट पर्वतारोहीहरू यहीँ आएका छन् र नेपाली शेर्पा, उच्च हिमाली गाइड तथा सहयोगीहरूको साहस, अनुभव र अद्वितीय सीपबिना आधुनिक पर्वतारोहणको इतिहास नै कल्पना गर्न सकिँदैन। तर लामो समयसम्म अन्तर्राष्ट्रिय पर्वतारोहणको प्रमुख कथामा विदेशी आरोहीहरू नायक बन्थे भने नेपालीहरू पर्दापछाडिका सहयोगीका रूपमा मात्र चिनिन्थे। शिखरसम्म पुग्ने गौरव धेरैजसो विदेशी अभियानले पाउँथ्यो, जबकि बाटो बनाउने, डोरी फिक्स गर्ने, भारी बोक्ने, जोखिम उठाउने र अभियान सफल बनाउने नेपालीहरूको योगदान अपेक्षाकृत ओझेलमै रहन्थ्यो।
निर्मल पुर्जाले यही स्थापित कथालाई चुनौती दिए। उनले संसारलाई देखाए कि नेपालीहरू केवल उत्कृष्ट सहयोगी होइनन्; उनीहरू विश्वकै कठिन हिमाली अभियानको योजना बनाउन, नेतृत्व गर्न, व्यवस्थापन गर्न र इतिहास रच्न पनि सक्षम छन्। यही कारण उनको कथा एउटा सफल पर्वतारोहीको जीवनी मात्र होइन; यो नेपाली आत्मविश्वास, नेतृत्व र राष्ट्रिय पहिचानको पुनर्स्थापनाको कथा पनि हो ।
गोर्खादेखि (SBS) सम्म
निर्मल पुर्जाको जन्म २५ जुलाई १९८३ मा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३, दाना गाउँमा एक सामान्य मगर परिवारमा भएको थियो। करिब चार वर्षको हुँदा उनको परिवार चितवन सरेको थियो। आर्थिक रूपमा अत्यन्त सीमित स्रोत भएको परिवारमा हुर्किएका उनले बाल्यकालमै अभाव, संघर्ष र सामाजिक बहिष्करणको अनुभव गरे। उनका बुबा बेलायती गोर्खा सैनिक थिए भने आमा कृषिकर्ममा संलग्न थिइन्। फरक जातका कारण भएको उनीहरूका आमाबुबाको विवाह परिवारले सहज रूपमा स्वीकार नगरेकाले केही समय उनीहरूको परिवार सामाजिक रूपमा अलग रहनुपरेको थियो।
निर्मल पुर्जाले विभिन्न अन्तर्वार्तामा आफ्नो बाल्यकाल अत्यन्त कठिन रहेको बताएका छन्। आर्थिक अभावका कारण कहिलेकाहीँ लगाउन चप्पलसमेत नहुने अवस्था थियो। पछि उनका तीनै जना दाजुहरू गोर्खा सैनिक बनेपछि परिवारको आर्थिक अवस्था विस्तारै सुधारियो। दाजुहरूको सहयोगले नै उनले तुलनात्मक रूपमा राम्रो विद्यालयमा अध्ययन गर्ने अवसर पाए। यही परिवेशले अनुशासन, आत्मनिर्भरता, कडा परिश्रम र राष्ट्रसेवाप्रतिको सम्मान उनको व्यक्तित्वमा सानैदेखि गहिरो रूपमा विकास गरायो।
सन् २००३ मा उनी बेलायती सेनाको ‘Queen’s Gurkha Engineers’ मा भर्ती भए। संसारकै कठिन सैन्य छनोट प्रक्रियामध्ये एक पार गरेर गोर्खा सैनिक बन्नु आफैँमा असाधारण उपलब्धि थियो। तर निर्मल पुर्जा त्यहीँ रोकिने व्यक्ति थिएनन्। उनले त्यसपछि संसारकै प्रतिष्ठित र अत्यन्त कठिन विशेष सैन्य इकाइमध्ये एक ‘Special Boat Service (SBS)’ मा प्रवेश गर्ने लक्ष्य राखे र अन्ततः २०० बर्षको ईतिहासमा त्यसमा छनोट हुने पहिलो गोर्खा सैनिक बने।
SBS मा सफलता केवल शारीरिक क्षमताले सम्भव हुँदैन। त्यहाँ मानसिक दृढता, चरम दबाबमा निर्णय गर्ने क्षमता, जोखिम व्यवस्थापन, सीमित स्रोतको अधिकतम उपयोग, समयको सूक्ष्म व्यवस्थापन र टोली नेतृत्वको कठोर परीक्षा हुन्छ। यही वातावरणले निर्मल पुर्जालाई केवल उत्कृष्ट सैनिक मात्र होइन, असाधारण नेतृत्वकर्ता बनायो।
त्यहाँ उनले सिकेका केही सिद्धान्तहरू पछि हिमालमा उनको सफलताको आधार बने;
लक्ष्यभन्दा ठूलो कुनै बहाना हुँदैन।
संकटमा भावनाभन्दा निर्णय महत्त्वपूर्ण हुन्छ।
समय नै सबैभन्दा मूल्यवान् स्रोत हो।
उत्कृष्ट टोलीबिना असम्भव लक्ष्य सम्भव हुँदैन।
नेतृत्व भनेको आदेश दिनु होइन, उदाहरण प्रस्तुत गर्नु हो।
यी सिद्धान्तहरू नै पछि उनको सम्पूर्ण पर्वतारोहण दर्शनको मेरुदण्ड बने।
सुरक्षित भविष्य कि असम्भव सपना?
निर्मल पुर्जाको जीवनको सबैभन्दा निर्णायक मोड कुनै हिमालको चुचुरोमा होइन, एउटा निर्णयमा थियो।
SBS मा रहँदा उनीसँग सम्मान, स्थिर आम्दानी, आकर्षक सुविधा र सुरक्षित भविष्य थियो। धेरै मानिसका लागि त्यस्तो जीवन अन्तिम लक्ष्य हुन सक्थ्यो। तर उनले आफ्नै जीवनलाई एउटा कठिन प्रश्न सोधे, “यदि आफ्नै सम्भावनाको सीमा कहिल्यै परीक्षण गरिएन भने सुरक्षित जीवनको अर्थ के हुन्छ?”
सन् २०१२ मा सैनिक बिदाका क्रममा उनी पहिलो पटक सगरमाथा आधार शिविर पुगे। त्यही यात्रामा उनले लोबुचे ईस्ट आरोहण गर्ने अवसर पाए। यही अनुभवले उनको जीवनको दिशा परिवर्तन गरिदियो। हिमालमा उनले केवल उचाइ देखेनन्; आफ्नै अर्को सम्भावना पनि देखे।
त्यसपछि उनले क्रमशः सगरमाथासहित विभिन्न कठिन हिमालहरू आरोहण गर्न थाले। प्रत्येक सफलतासँगै एउटा विश्वास बलियो हुँदै गयो; सैनिक जीवनले सिकाएको अनुशासन, रणनीति, नेतृत्व र समय व्यवस्थापनलाई हिमालमा पनि सफलतापूर्वक लागू गर्न सकिन्छ।
हिमालमा सफलता केवल साहस वा अनुभवको परिणाम होइन; यो उच्च उचाइमा मानव शरीरले गर्ने जैविक अनुकूलन (High Altitude Physiology) को पनि परीक्षा हो। समुद्री सतहबाट ८,००० मिटरभन्दा माथिको क्षेत्रमा वायुमण्डलीय अक्सिजनको आंशिक चाप (Partial Pressure of Oxygen) उल्लेखनीय रूपमा घट्ने भएकाले शरीरमा Hypoxia अर्थात् अक्सिजनको कमी उत्पन्न हुन्छ। यस्तो अवस्थामा शरीरले रातो रक्तकण (Red Blood Cells) को उत्पादन बढाउने, श्वासप्रश्वासको दर परिवर्तन गर्ने र ऊर्जाको उपयोग गर्ने तरिकामा जैविक अनुकूलन (Acclimatization) सुरु गर्छ। साथै, अत्यधिक चिसो, तीव्र हावा र न्यून तापक्रमका कारण शरीरको तापीय सन्तुलन (Thermoregulation) कायम राख्नु अर्को ठूलो चुनौती हुन्छ। Hypoxia र सीमित ऊर्जा उपलब्धताले शरीरमा ताप उत्पादन गर्ने क्षमता पनि घटाउन सक्छ, जसले Hypothermia, Frostbite तथा मांसपेशी कार्यक्षमतामा प्रतिकूल प्रभाव पार्न सक्छ। त्यसैले उपयुक्त तहगत पोशाक (Layering System), पर्याप्त ऊर्जा तथा जलयोजन (Hydration), र मौसमअनुकूल रणनीति सफल हिमाली अभियानका अत्यावश्यक वैज्ञानिक आधार मानिन्छन्। खेल विज्ञानका दृष्टिले हेर्दा उच्च VO₂ Max, उत्कृष्ट कार्डियोरेस्पिरेटरी क्षमता (Cardiorespiratory Capacity) र दीर्घकालीन सहनशीलता (Endurance) यस्ता अभियानका आधारभूत जैविक पूर्वशर्त हुन्। सैनिक जीवनमा विकास भएको उनको असाधारण शारीरिक क्षमता, अनुशासन र मानसिक दृढताले यही बहुआयामिक शारीरिक चुनौतीसँग जुध्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
अन्ततः सन् २०१८ मा उनले संसारकै प्रतिष्ठित सैन्य करिअर त्यागेर पूर्णकालीन पर्वतारोहणमा समर्पित हुने निर्णय गरे। यो केवल पेशा परिवर्तन थिएन; सुरक्षित भविष्यलाई अनिश्चित सपनाका लागि दाउमा लगाउने साहसिक निर्णय थियो। पछि आफ्ना महत्वाकाङ्क्षी हिमाली अभियानहरू सञ्चालन गर्न उनले बेलायतस्थित आफ्नै घर धितो राखे र अन्ततः बेच्नुपर्ने अवस्था पनि आयो। तर उनका लागि सुरक्षा भन्दा ठूलो कुरा उद्देश्य थियो।
‘Nothing Is Impossible’ : एउटा जीवनदर्शन
आज “Nothing Is Impossible” भन्ने वाक्यांश निम्सदाईको परिचय बनेको छ। तर उनका लागि यो केवल प्रेरणादायी नारा थिएन; यो सम्पूर्ण जीवनलाई मार्गदर्शन गर्ने दर्शन थियो।
उनले सुरक्षित सैनिक करिअर त्यागे। आफ्नै सम्पत्ति जोखिममा राखे। संसारका अनुभवी पर्वतारोहीहरूले असम्भव भनेको लक्ष्य सार्वजनिक रूपमा घोषणा गरे। अनि अन्ततः त्यसलाई पूरा गरेर देखाए।
उनको जीवनले एउटा गहिरो सत्य सिकाउँछ; असम्भव भन्ने शब्द धेरैजसो वास्तविकताको सीमा होइन, हाम्रो सोचको सीमा हो।
यही विश्वासले केही वर्षपछि एउटा गोर्खा सैनिकलाई विश्व कीर्तिमानी पर्वतारोही मात्र बनाएन, ‘निर्मल पुर्जा’लाई ‘निम्सदाई’मा रूपान्तरण गरिदियो; एउटा यस्तो नाममा, जसले विश्व पर्वतारोहणमा नेपाली नेतृत्व, आत्मविश्वास र राष्ट्रिय पहिचानको नयाँ अध्याय सुरु गर्यो।
भाग २ : एउटा नामको विश्वव्यापी उदय
एउटा नामभन्दा ठूलो विश्वास
आज संसारभर पर्वतारोहणसँग परिचित अधिकांश मानिसले “Nirmal Purja” भन्दा “Nimsdai” नाम बढी चिन्छन्। तर यो कुनै योजनाबद्ध व्यावसायिक ब्रान्डिङको परिणाम थिएन।
बेलायती सेनामा कार्यरत रहँदा उनका विदेशी सहकर्मीहरूलाई “Nirmal” उच्चारण गर्न कठिन लाग्थ्यो। सैनिक संस्कृतिमा छोटो र सहज नाम प्रयोग गर्ने परम्पराअनुसार उनीहरू उनलाई “Nims” भनेर सम्बोधन गर्न थाले। पछि नेपाल फर्किएपछि शेर्पा, उच्च हिमाली गाइड र अभियानका साथीहरूले आत्मीय सम्मानका साथ “निम्स दाइ” भन्न थाले। यही सम्बोधन क्रमशः अन्तर्राष्ट्रिय समुदायमा Nimsdai का रूपमा स्थापित भयो।
यो नामको लोकप्रियता केवल उच्चारणको सहजतामा आधारित थिएन। नेपाली समाजमा “दाइ” शब्दले नेतृत्व, विश्वास, संरक्षण र आत्मीयताको अर्थ बोकेको हुन्छ। उनले आफ्नो व्यवहारबाट पनि यही अर्थलाई जीवन्त बनाए। उनी टोलीका सदस्यलाई आदेश दिने नेता होइन, सँगै हिँड्ने नेतृत्वकर्ता थिए। यही कारण Nimsdai एउटा व्यक्तिको नामभन्दा बढी विश्वासको प्रतीक बन्यो।
Project Possible : जब समय नै प्रतिस्पर्धी बन्यो
सन् २०१९ सम्म विश्वका १४ वटा आठ–हजारे हिमाल आरोहण गर्न प्रायः ८ देखि १० वर्ष लाग्ने मान्यता स्थापित भइसकेको थियो। मौसम, अनुमति, उचाइमा शरीरलाई अनुकूल बनाउने प्रक्रिया, यात्रा व्यवस्थापन, आर्थिक स्रोत र शारीरिक पुनःस्थापनाजस्ता कारणले यसलाई छोटो समयमा सम्पन्न गर्नु असम्भवजस्तै मानिन्थ्यो।
निर्मल पुर्जाले यही स्थापित मान्यतालाई चुनौती दिए। उनले प्रश्न उठाए;
“यदि सैनिक अभियानझैँ वैज्ञानिक योजना, समय व्यवस्थापन, जोखिम विश्लेषण र उत्कृष्ट टोली समन्वय प्रयोग गर्न सकिन्छ भने वर्षौँ लाग्ने काम केही महिनामै किन सम्भव नहुने?”
यही सोचबाट Project Possible को जन्म भयो।
यो अभियान केवल हिमाल चढ्ने योजना थिएन। यो उच्च प्रदर्शन व्यवस्थापन (High Performance Management), रणनीतिक नेतृत्व, मौसम विज्ञान, जोखिम व्यवस्थापन,सामग्री व्यवस्थापन (Logistics), हेलिकप्टर समन्वय, उच्च उचाइमा अक्सिजनको वैज्ञानिक प्रयोग र बहु-देशीय अभियान सञ्चालनको जटिल व्यवस्थापन प्रणाली थियो।
SBS मा सिकेको एउटा सिद्धान्त “Mission First” उनको सम्पूर्ण अभियानको आधार बन्यो। लक्ष्य स्पष्ट भएपछि त्यसलाई सफल बनाउन आवश्यक प्रत्येक प्रणालीलाई उनले सूक्ष्म रूपमा तयार गरे।
फलस्वरूप, सन् २०१९ मा उनले केवल १८९ दिन (६ महिना ६ दिन) भित्र विश्वका १४ वटै आठ हजारे हिमाल आरोहण गर्दै विश्व पर्वतारोहणको इतिहास पुनर्लेखन गरे।
यो उपलब्धि केवल एउटा नयाँ कीर्तिमान थिएन; यसले पर्वतारोहणलाई केवल व्यक्तिगत साहसको खेल होइन, वैज्ञानिक योजना, नेतृत्व र सामूहिक क्षमताको उत्कृष्ट उदाहरणका रूपमा पुनःपरिभाषित गर्यो।
यो अभियानले आधुनिक पर्वतारोहणमा एउटा नयाँ अवधारणा स्थापित गर्यो कि उच्च प्रदर्शन व्यवस्थापन (High Performance Management)। पर्वतारोहण केवल व्यक्तिगत साहस होइन; नेतृत्व, विज्ञान, सामाग्री व्यवस्थापन, मौसम विश्लेषण, मनोवैज्ञानिक तयारी र समय व्यवस्थापनको संयुक्त परिणाम पनि हो।
खेल विज्ञानको दृष्टिले Project Possible को सबैभन्दा अद्वितीय पक्ष पुनःस्थापना (Recovery) को व्यवस्थापन थियो। सामान्य अवस्थामा आठ–हजारे हिमाल आरोहणपछि शरीरलाई पूर्ण रूपमा पुनःस्थापित हुन हप्तौँदेखि महिनौँसम्म लाग्न सक्छ। तर निर्मल पुर्जाले अत्यन्त सीमित समयमा अर्को अभियान सुरु गर्नुपर्थ्यो। त्यसैले उनीहरूको अभियान केवल आरोहणको गति होइन, Recovery Management को पनि उदाहरण थियो। पोषण, अक्सिजन व्यवस्थापन, निद्रा, जलयोजन (Hydration), मांसपेशी पुनःस्थापना र उचाइअनुसार शरीरलाई पुनःअनुकूल बनाउने रणनीतिहरूले सम्पूर्ण अभियानलाई सम्भव बनाए। आधुनिक उच्च प्रदर्शन खेल विज्ञानमा यस्तो Recovery Strategy लाई सफलताको प्रमुख आधार मानिन्छ।
उच्च उचाइमा शरीरको ऊर्जा चयापचय (Energy Metabolism) पनि उल्लेखनीय रूपमा परिवर्तन हुन्छ। Hypoxia का कारण एरोबिक ऊर्जा उत्पादन घट्दै जान्छ र शरीरले सीमित अक्सिजनमा कार्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ। यसले ग्लाइकोजनको उपयोग, थकानको गति, मांसपेशी कार्यक्षमता र शारीरिक सहनशीलतामा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले उच्च कार्बोहाइड्रेटयुक्त पोषण, पर्याप्त जलयोजन (Hydration), ऊर्जा सन्तुलन तथा चरणबद्ध पोषण रणनीति (Nutritional Strategy) सफल हिमाली अभियानका वैज्ञानिक आधार मानिन्छन्। Project Possible जस्ता तीव्र अभियानमा यी पक्षहरूको प्रभावकारी व्यवस्थापनले निरन्तर उच्च प्रदर्शन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
यति छोटो समयमा लगातार अभियान सञ्चालन गर्दा निद्राको अभाव (Sleep Deprivation) पनि गम्भीर चुनौती बन्छ। अनुसन्धानहरूले देखाउँछन् कि पर्याप्त निद्रा नपाउँदा निर्णय क्षमता, प्रतिक्रिया समय, ध्यान केन्द्रित गर्ने क्षमता र जोखिम मूल्याङ्कन गर्ने दक्षता घट्न सक्छ। त्यसैले निर्मल पुर्जाको उपलब्धि केवल शारीरिक सहनशीलताको परिणाम नभई चरम थकानका बीच पनि उच्च मानसिक कार्यक्षमता कायम राख्न सक्ने क्षमताको उदाहरण थियो।
सपनाको मूल्य : जब उनले आफ्नै भविष्य दाउमा लगाए
कुनै पनि ऐतिहासिक अभियानको सबैभन्दा ठूलो चुनौती हिमाल चढ्नु मात्र हुँदैन; त्यसलाई सम्भव बनाउन आवश्यक आर्थिक स्रोत जुटाउनु पनि उत्तिकै कठिन हुन्छ।Project Possible सञ्चालनका लागि करिब £७५०,००० (त्यतिबेलाको विनिमय दरअनुसार करिब १० करोड रुपैयाँ) आवश्यक पर्ने अनुमान गरिएको थियो। यो कुनै सरकारी परियोजना थिएन, न कुनै बहुराष्ट्रिय कम्पनीको लगानी। यो एउटा नेपालीको सपना थियो, जसलाई सम्भव बनाउन उनले आफ्नै भविष्य दाउमा लगाए।
प्रारम्भिक चरणमा धेरै सम्भावित प्रायोजकले उनको योजनालाई “असम्भव” भन्दै अस्वीकार गरे। यति ठूलो रकम सहज रूपमा जुट्ने अवस्था थिएन। त्यसैले उनले सबैभन्दा पहिले आफ्नै जिम्मेवारी वहन गर्ने निर्णय गरे। आफ्नै शब्दमा भन्दा, “अरूबाट सहयोग माग्नुअघि आफूले आफूसँग भएको सबै कुरा दिनुपर्छ।” यही विश्वासअनुसार उनले बेलायतमा रहेको आफ्नै घर बिक्री गरे, आफ्नो बचत, सम्पत्ति र सुरक्षित भविष्यसमेत जोखिममा राखे। यसअघि पनि एउटा विश्व कीर्तिमानी अभियानका लागि उनले आफ्नै घर धितो राखेर ऋण लिएका थिए। त्यसैले उनको यात्रा अरूको लगानीभन्दा पहिले आफ्नै त्यागबाट सुरु भएको थियो।
त्यसपछि मात्र उनले आफ्ना साथीहरू, विश्वभर रहेका नेपाली समुदाय र सम्भावित साझेदारहरूसँग सहयोगको आग्रह गरे। उनले एक टेलिभिजन अन्तर्वार्तामा सुनाएअनुसार, आफ्नो परियोजनाबारे एक घनिष्ठ साथीलाई बताएपछि ती साथीले केवल एउटै कुरा भने, “म तिमीलाई विश्वास गर्छु।” त्यसपछि उनले कुनै जटिल प्रक्रिया वा सर्तबिनै £२५,००० सहयोग उपलब्ध गराए। त्यो सहयोग केवल आर्थिक योगदान थिएन; त्यो निर्मल पुर्जाको दृष्टि, नेतृत्व र क्षमतामाथि गरिएको विश्वासको पहिलो ठूलो लगानी थियो।
यही प्रारम्भिक विश्वासले अभियानलाई अघि बढ्ने आधार दियो। त्यसपछि विश्वभरका नेपाली समुदाय, शुभेच्छुक र केही संस्थाहरू क्रमशः यस अभियानसँग जोडिँदै गए। अभियानले गति लिँदै जाँदा Bremont, Osprey लगायतका अन्तर्राष्ट्रिय साझेदारहरू पनि सहभागी बने।
यस यात्राले एउटा गहिरो सत्य स्थापित गर्यो; विश्वास मागेर पाइँदैन; आफ्नै त्याग, कर्म र प्रतिबद्धताबाट कमाइन्छ। निर्मल पुर्जाले पहिले आफूमाथि विश्वास गरे, त्यसपछि संसारले उनीमाथि विश्वास गर्न थाल्यो। सम्भवतः यही नै Project Possible को सबैभन्दा ठूलो आधार थियो।
कीर्तिमानभन्दा ठूलो कथा
Project Possible सफल भएपछि संसारले केवल एउटा विश्व कीर्तिमान देखेन; एउटा नयाँ कथा पनि देख्यो।
निर्मल पुर्जाले सुरुदेखि नै बुझेका थिए कि आधुनिक विश्वमा उपलब्धि मात्र पर्याप्त हुँदैन; त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न पनि जान्नुपर्छ।
त्यसैले अभियानका क्रममा उच्च गुणस्तरका तस्बिर, भिडियो, प्रत्यक्ष अद्यावधिक र वृत्तचित्र निर्माणलाई पनि समान प्राथमिकता दिइयो।
पछि यही यात्राले Netflix को बहुचर्चित वृत्तचित्र “14 Peaks: Nothing Is Impossible” र उनको आत्मकथा “Beyond Possible” को आधार तयार गर्यो।
यी कृतिहरूले विश्वलाई एउटा नयाँ नेपाल देखाए—जहाँ नेपालीहरू केवल विदेशी अभियानका सहयोगी होइनन्; आफ्नै दृष्टि, नेतृत्व र व्यवस्थापनद्वारा विश्वस्तरीय अभियान सञ्चालन गर्न सक्ने नेतृत्वकर्ता पनि हुन्।
यसरी निर्मल पुर्जाले केवल विश्व कीर्तिमान बनाएनन्; उनले नेपाली पर्वतारोहणको कथालाई विश्वले सुन्ने भाषामा अनुवाद गरे।
सायद यही क्षणदेखि “निर्मल पुर्जा” एउटा व्यक्तिको नाममा सीमित रहेन। उनी “Nimsdai” बने; नेपाली साहस, नेतृत्व, अनुशासन र असम्भवलाई चुनौती दिने मानसिकताको विश्वव्यापी प्रतीक।
भाग ३ : एउटा विश्वव्यापी पहिचानको निर्माण
विश्व पर्वतारोहणको इतिहासमा निर्मल पुर्जाभन्दा धेरैअघि र उनीसँगैको समकालीन पुस्तामा पनि अनेकौँ पर्वतारोहीहरूले असाधारण कीर्तिमान कायम गरेका थिए। आपा शेर्पाले सगरमाथाको सबैभन्दा धेरै सफल आरोहणको विश्व कीर्तिमान बनाए भने कामी रिता शेर्पाले त्यसलाई अझ नयाँ उचाइमा पुर्याए। फु दोर्जी शेर्पा, आङ रिता शेर्पा, उली स्टेक, रेनहोल्ड मेसनर, एड भिएस्टर्स, किलियन जोर्नेट, डेभिड गोएटलर र डेनिस उरुब्को जस्ता विश्वप्रसिद्ध पर्वतारोहीहरूले पनि आ–आफ्नो क्षेत्रमा पर्वतारोहणका नयाँ मानक स्थापित गरेका छन्। उनीहरूको योगदानबिना आधुनिक विश्व पर्वतारोहणको इतिहास अधुरो रहन्छ।
यही सन्दर्भमा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ—यति धेरै विश्वस्तरीय पर्वतारोही र ऐतिहासिक कीर्तिमानहरूका बीच किन निर्मल पुर्जा ‘निम्सदाई’का रूपमा विश्वव्यापी प्रभाव र पहिचान निर्माण गर्न सफल भए?
यसको उत्तर केवल उनले १८९ दिनमा विश्वका १४ वटै आठ–हजारे हिमाल आरोहण गरेर कायम गरेको अभूतपूर्व विश्व कीर्तिमानमा सीमित छैन। त्यसको वास्तविक आधार उनको दूरदर्शी नेतृत्व, साहसी दृष्टिकोण, रणनीतिक सोच, प्रभावकारी सञ्चार क्षमता र नेपाली पर्वतारोहणको कथालाई विश्वले बुझ्ने भाषामा प्रस्तुत गर्ने असाधारण दक्षतामा निहित छ। उनले केवल इतिहास रचेनन्; त्यस इतिहासलाई विश्वव्यापी प्रेरणाको कथामा रूपान्तरण गरे। यही विशेषताले निर्मल पुर्जालाई सफल पर्वतारोहीबाट ‘निम्सदाई’ नेपाली नेतृत्व, आत्मविश्वास र विश्वव्यापी प्रभावको प्रतीकका रूपमा स्थापित गरायो।
कीर्तिमानभन्दा पर : नेतृत्वको शक्ति
धेरै मानिसहरूले इतिहास बनाउँछन्, तर थोरैले मात्र इतिहासको दिशा परिवर्तन गर्छन्।
निर्मल पुर्जा दोस्रो श्रेणीका व्यक्ति थिए।
Special Boat Service (SBS) मा बिताएका वर्षहरूले उनलाई केवल उत्कृष्ट सैनिक बनाएन; एउटा संकट नेतृत्वकर्ता (Crisis Leader) पनि बनायो। चरम दबाबमा निर्णय लिन सक्ने क्षमता, सीमित स्रोतको अधिकतम उपयोग, जोखिमको पूर्वानुमान, टोलीलाई एउटै लक्ष्यमा केन्द्रित राख्ने कला र समय व्यवस्थापन; यी सबै गुण पछि हिमालमा उनी सबैभन्दा ठूलो शक्ति बने।
तर उनको अर्को विशेषता अझ प्रभावशाली थियो; सञ्चार।
उनी आफ्नो दृष्टि स्पष्ट रूपमा व्यक्त गर्न सक्थे।
विश्वका प्रमुख सञ्चारमाध्यमसँग आत्मविश्वासपूर्वक संवाद गर्न सक्थे।
सामाजिक सञ्जाल, वृत्तचित्र, सार्वजनिक व्याख्यान र व्यक्तिगत कथामार्फत लाखौँ मानिसलाई प्रेरित गर्न सक्थे।
धेरै महान् पर्वतारोहीहरूले विश्व कीर्तिमान बनाए।
निर्मल पुर्जाले त्यसलाई विश्वले सम्झिरहने कथा बनाए।
पर्वतारोहणमा नेतृत्वको वास्तविक परीक्षा शिखरमा होइन, निर्णयको क्षणमा हुन्छ। उच्च उचाइ, चरम चिसो, अक्सिजनको कमी, मौसमको अनिश्चितता र लगातारको शारीरिक थकानले Decision Fatigue उत्पन्न गर्न सक्छ। यस्तो अवस्थामा सानो निर्णय त्रुटिले पनि जीवन-मृत्युको अन्तर सिर्जना गर्न सक्छ। खेल मनोविज्ञान (Expedition Psychology) का अनुसार सफल अभियान नेताले भावनात्मक नियन्त्रण, जोखिमको यथार्थ मूल्याङ्कन, टोलीको मनोबल व्यवस्थापन र दबाबमा पनि स्पष्ट निर्णय गर्ने क्षमता विकास गरेको हुनुपर्छ। निर्मल पुर्जाको सैन्य अनुभवले यी मनोवैज्ञानिक दक्षतालाई असाधारण रूपमा परिष्कृत गरेको देखिन्छ।
उच्च उचाइमा Hypoxia ले केवल शरीरलाई मात्र होइन, मस्तिष्कलाई पनि प्रत्यक्ष असर गर्छ। अक्सिजनको कमीले ध्यान केन्द्रित गर्ने क्षमता (Attention), कार्यस्मृति (Working Memory), प्रतिक्रिया समय (Reaction Time) र कार्यकारी निर्णय क्षमता (Executive Function) कमजोर हुन सक्छ। खेल विज्ञान तथा उच्च उचाइसम्बन्धी अनुसन्धानहरूले ८,००० मिटरभन्दा माथिको क्षेत्रमा Cognitive Performance उल्लेखनीय रूपमा घट्न सक्ने देखाएका छन्। यस्तो अवस्थामा सुरक्षित निर्णय लिन सक्ने क्षमता पर्वतारोहणको सबैभन्दा महत्त्वपूर्ण प्रदर्शन सूचक (Performance Indicator) मध्ये एक मानिन्छ। निर्मल पुर्जाको सैन्य प्रशिक्षण, मानसिक अनुशासन र संकट व्यवस्थापनको अनुभवले यस्ता चुनौतीका बीच पनि निर्णयको गुणस्तर कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
Decision Fatigue र Cognitive Performance दुवै पक्षहरूले देखाउँछन् कि उच्च उचाइमा सफल पर्वतारोहण केवल शारीरिक सहनशीलताको परीक्षा होइन; यो मस्तिष्कको कार्यक्षमता, भावनात्मक नियन्त्रण र नेतृत्व क्षमताको पनि कठोर परीक्षा हो। त्यसैले आधुनिक Expedition Science ले उच्च उचाइमा Human Performance लाई Physiological, Psychological र Cognitive प्रणालीहरूको एकीकृत परिणामका रूपमा व्याख्या गर्छ। निर्मल पुर्जाको यात्राले यही समग्र Human Performance Model लाई व्यवहारिक रूपमा प्रस्तुत गरेको देखिन्छ।
सहयोगीबाट नेतृत्वकर्तासम्म
दशकौँसम्म अन्तर्राष्ट्रिय पर्वतारोहणको मुख्य कथामा विदेशी आरोहीहरू केन्द्रमा हुन्थे।
नेपाली शेर्पा र उच्च हिमाली गाइडहरू डोरी टाँग्थे, बाटो बनाउँथे, अक्सिजन बोक्थे, उद्धार गर्थे र सबैभन्दा जोखिमपूर्ण काम गर्थे। तर अन्तिम सफलताको कथा प्रायः विदेशी अभियानको नाममा लेखिन्थ्यो।
निर्मल पुर्जाले यही संरचनालाई चुनौती दिए।
उनले संसारलाई देखाए कि नेपालीहरू केवल प्राविधिक सहयोगी होइनन्; उनीहरू विश्वकै जटिल हिमाली अभियानको योजना बनाउन, नेतृत्व गर्न, सञ्चालन गर्न र सफल बनाउन पनि सक्षम छन्।
अझ महत्त्वपूर्ण कुरा, उनले आफ्ना सहकर्मी शेर्पा, गाइड र नेपाली टोलीका सदस्यहरूलाई जहिल्यै आफ्ना सफलताको केन्द्रमा राखे।
उनका लागि विजय कहिल्यै व्यक्तिगत उपलब्धि थिएन।
त्यो सामूहिक नेतृत्वको परिणाम थियो।
यही कारण उनले पर्वतारोहणको विश्व कथालाई “Supporting Role” बाट “Leadership Role” तर्फ मोड्न महत्त्वपूर्ण भूमिका खेले।
नागरिकताभन्दा ठूलो पहिचान
निर्मल पुर्जाको जीवनसँग जोडिएको अर्को बहस उनको नागरिकतासँग सम्बन्धित थियो।कानुनी रूपमा उनले बेलायती नागरिकता ग्रहण गरेका थिए। त्यसैले केहीले उनलाई “गैर-नेपाली” भनेर टिप्पणी पनि गरे।
तर नागरिकता र पहिचान सधैँ एउटै कुरा हुँदैनन्।
निर्मल पुर्जा जन्मले नेपाली थिए। उनको बाल्यकाल नेपालमै बित्यो। नेपाली समाज, गोर्खा परम्परा, हिमाल र नेपाली संस्कृतिले नै उनको व्यक्तित्व निर्माण गरेको थियो।
बेलायती नागरिकता उनले रहरले होइन, बेलायती गोर्खा सैनिक र पछि SBS मा सेवा गर्ने व्यावसायिक यात्राका क्रममा कानुनी प्रक्रियाअन्तर्गत प्राप्त गरेका थिए।पछिल्लो समय उनले सार्वजनिक रूपमा पटक–पटक एउटै भावना व्यक्त गरेका थिए—“मेरो मन नेपाली हो, मेरो रगत नेपाली हो।”
विभिन्न सार्वजनिक कार्यक्रममा नेपाली पहिचानमाथि प्रश्न उठ्दा उनी भावुक बनेका दृश्यहरू पनि व्यापक रूपमा चर्चामा आएका थिए। उनका लागि नागरिकता एउटा कानुनी अवस्था थियो; नेपाल भने जन्मभूमि, प्रेरणा र विश्वसामु चिनाउन चाहेको पहिचान थियो।
जीवनकालमा प्राप्त गरेका दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानका प्रत्येक महत्त्वपूर्ण क्षणमा निर्मल पुर्जाले आफ्नो नेपाली मूल र पहिचानप्रति गर्व व्यक्त गर्न कहिल्यै चुकेनन्। बेलायत सरकारले सम्मानित गरेको औपचारिक समारोहमा समेत उनले आफू नेपाली मूलको भएको कुरा स्पष्ट रूपमा उल्लेख गर्दै आफ्नो यात्राको जरा नेपालमै रहेको बताए। यही कारण उनको अन्तर्राष्ट्रिय सफलता कुनै व्यक्तिगत उपलब्धिमा मात्र सीमित रहेन; त्यो नेपाली पहिचान, गोर्खाली परम्परा र नेपालको विश्वव्यापी प्रतिष्ठासँग जोडिएको साझा गौरव बन्यो।
उनले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठा कहिल्यै व्यक्तिगत लाभमा सीमित राखेनन्। बरु नेपाली शेर्पा, नेपाली पर्वतारोहण र नेपालको विश्व छविसँग जोडेर प्रस्तुत गरे।सायद यही कारण विश्वले उनलाई केवल सफल पर्वतारोहीका रूपमा होइन, नेपालको अनौपचारिक सांस्कृतिक दूत (Unofficial Ambassador) का रूपमा पनि सम्झियो।
नागरिकता कुनै व्यक्तिको कानुनी हैसियत हो भने पहिचान सांस्कृतिक, ऐतिहासिक र भावनात्मक सम्बन्धको विषय पनि हुन सक्छ। निर्मल पुर्जाको जीवनमा यी दुई आयाम सँगसँगै देखिन्छन्।
विश्वसामु नेपालको नयाँ कथा
आधुनिक विश्वमा कुनै राष्ट्रको प्रभाव केवल आर्थिक वा सैन्य शक्तिबाट मात्र निर्माण हुँदैन; प्रभावकारी कथा (Narrative), सांस्कृतिक पहिचान, प्रेरणादायी व्यक्तित्व र विश्वसामु प्रस्तुत गरिने छविले पनि त्यसलाई परिभाषित गर्छ। यही नै Soft Power को मूल आधार हो।
निर्मल पुर्जाले यो वास्तविकता धेरैअघि नै बुझेका थिए। उनका अभियानहरू हिमालको चुचुरोमा समाप्त भएनन्; ती विश्वव्यापी कथामा रूपान्तरित भए। Beyond Possible जस्ता पुस्तक, 14 Peaks: Nothing Is Impossible जस्ता वृत्तचित्र, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दिएका प्रेरणादायी व्याख्यान तथा डिजिटल प्लेटफर्ममार्फत उनले आफ्नो यात्रालाई करोडौँ मानिससम्म पुर्याए।
यस प्रक्रियामार्फत उनले नेपाललाई केवल सगरमाथाको देशका रूपमा मात्र होइन, अनुशासन, नेतृत्व, साहस, नवप्रवर्तन र उच्च प्रदर्शन संस्कृतिको प्रतिनिधित्व गर्ने राष्ट्रका रूपमा पनि विश्वसामु प्रस्तुत गर्न महत्त्वपूर्ण योगदान दिए। यस अर्थमा निर्मल पुर्जाको यात्रा नेपालको Soft Power सुदृढ गर्ने उल्लेखनीय उदाहरणका रूपमा लिन सकिन्छ।
कीर्तिमानभन्दा ठूलो विरासत
निर्मल पुर्जाको असामयिक निधनले विश्व पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबायो। तर त्यो दुर्घटनाले केवल एक व्यक्तिलाई मात्र गुमाएको थिएन। उनीसँगै जीवन गुमाउने नेपाली तथा विदेशी पर्वतारोही, उच्च हिमाली गाइड र सहयोगीहरूले पनि मानव साहस, समर्पण र व्यावसायिक उत्तरदायित्वको सर्वोच्च उदाहरण प्रस्तुत गरेका थिए। उनीहरू प्रत्येकले आफ्ना सपना, आफ्नो अनुभव र आफ्नो जीवनलाई हिमालसँग जोडेर मानव क्षमताको सीमालाई चुनौती दिएका थिए।
यद्यपि यस लेखको केन्द्र निर्मल पुर्जाको जीवन र योगदान हो, हिमालले एकैपटक धेरै अनुभवी पर्वतारोहीहरू गुमाएको यथार्थलाई बिर्सन मिल्दैन। त्यसैले यस दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण व्यक्तित्वप्रति समान सम्मान र हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु नै पर्वतारोहणको नैतिक मूल्य र संस्कृतिसँग मेल खाने दृष्टिकोण हो।
निर्मल पुर्जाको योगदान निस्सन्देह विशिष्ट थियो, तर उनी स्वयं पनि आफ्नो सफलताको श्रेय सधैँ टोली, शेर्पा समुदाय र सहकर्मीहरूसँग बाँड्ने गर्थे। यही विनम्रता र सामूहिक नेतृत्वप्रतिको विश्वासले उनलाई केवल सफल पर्वतारोही होइन, प्रेरणादायी नेतृत्वकर्ताका रूपमा स्थापित गर्यो।
सायद यही कारण उनको वास्तविक विरासत कुनै एउटा विश्व कीर्तिमानमा सीमित छैन। त्यो एउटा विचार हो,नेपालीहरू हिमाल चढ्न मात्र सक्षम छैनन्; उनीहरू विश्वस्तरीय नेतृत्व गर्न, नयाँ मापदण्ड स्थापित गर्न र स्थापित मान्यतालाई परिवर्तन गर्न पनि सक्षम छन्। यही विचारले “Nimsdai” लाई एउटा नामभन्दा धेरै ठूलो नेपाली आत्मविश्वास, नेतृत्व, साहस र असीम सम्भावनाको विश्वव्यापी प्रतीक बनाएको छ।
भाग ४ : विरासत र भविष्य
निर्मल पुर्जाको जीवन एउटा असाधारण व्यक्तिको सफलताको कथा मात्र होइन; यो नेपालले आफ्नै सम्भावनालाई नयाँ दृष्टिले हेर्न सिकाएको कथा पनि हो। उनले विश्वलाई एउटा नयाँ नेपाली चिनाए—जो केवल साहसी मात्र होइन, रणनीतिक सोच राख्ने, नेतृत्व गर्न सक्ने, विश्वसँग आत्मविश्वासपूर्वक संवाद गर्न सक्ने र असम्भवलाई सम्भव बनाउने क्षमता भएको व्यक्ति हो। त्यसैले उनको विरासत कुनै एउटा विश्व कीर्तिमानमा सीमित छैन; त्यो नेपाली पर्वतारोहण, राष्ट्रिय पहिचान र नेपालको भविष्यसँग गाँसिएको एउटा दीर्घकालीन विचारका रूपमा जीवित रहनेछ।
हिमालले गुमाएको विरासत
ब्रड पिकको दुर्घटनाले केवल केही जीवनको अन्त्य गरेन; यसले विश्व पर्वतारोहण समुदायको अनुभव, नेतृत्व, ज्ञान र प्रेरणाको अमूल्य सम्पदामाथि गहिरो आघात पुर्यायो। निर्मल ‘निम्सदाई’ पुर्जासँगै जीवन गुमाउने नेपाली तथा विदेशी पर्वतारोही, शेर्पा, उच्च हिमाली गाइड, उद्धारकर्मी र सहयोगीहरू प्रत्येकले आफ्नो साहस, अनुशासन, व्यावसायिक दक्षता र हिमालप्रतिको अदम्य समर्पणबाट पर्वतारोहणको इतिहासमा विशिष्ट योगदान दिएका थिए। उनीहरूका लागि हिमाल केवल पेशा वा चुनौती मात्र थिएन; त्यो जीवनदर्शन, उत्तरदायित्व र मानव क्षमताको सीमालाई निरन्तर विस्तार गर्ने साझा अभियान थियो।
हिमालले कहिल्यै राष्ट्रियता, भाषा, जातीय पहिचान वा नागरिकताका आधारमा भेदभाव गर्दैन। त्यहाँ प्रकृतिका नियम, जोखिम र उत्तरदायित्व सबैका लागि समान हुन्छन्। यही कारण ब्रड पिकको यो दुर्घटनालाई कुनै एक व्यक्तिको निधनमा मात्र सीमित गरेर बुझ्नु पर्याप्त हुँदैन। निम्सदाईसँगै जीवन गुमाउने प्रत्येक व्यक्तित्व मानव साहस, समर्पण, व्यावसायिक उत्तरदायित्व र हिमालप्रतिको निष्ठाका समान रूपमा सम्मानित प्रतिनिधि थिए। उनीहरूमध्ये प्रत्येकले आफ्ना सपना, परिवार र जीवनलाई हिमालसँग जोड्दै मानव क्षमताको सीमालाई निरन्तर चुनौती दिएका थिए। उनीहरूको योगदानले हिमालयलाई केवल आरोहणको गन्तव्यका रूपमा होइन, साहस, सहकार्य, विश्वास र मानव दृढताको विश्वव्यापी प्रतीकका रूपमा स्थापित गरेको थियो।
यस दुर्घटनाले पर्वतारोहण जगत्बाट केवल अनुभवी जनशक्ति मात्र होइन, दशकौँको अनुभव, नेतृत्व, ज्ञान, प्रेरणा र अमूल्य मानवीय सम्पदा पनि एकैपटक खोस्यो। उनीहरूको अनुपस्थितिले विश्व पर्वतारोहणमा सिर्जना गरेको रिक्तता कुनै एक अभियान वा एक पुस्ताले सहजै पूर्ति गर्न सक्ने खालको छैन। त्यसैले यो दुर्घटना केही व्यक्तिको निधनको समाचार मात्र होइन; सम्पूर्ण अन्तर्राष्ट्रिय हिमाली समुदायले साझा रूपमा भोगेको गहिरो पीडा र पर्वतारोहणको सामूहिक विरासतमा परेको अपूरणीय क्षति हो।
यद्यपि यस लेखको केन्द्र निर्मल ‘निम्सदाई’ पुर्जाको जीवन, नेतृत्व र योगदान हो, उनीसँगै जीवन गुमाउने सम्पूर्ण पर्वतारोही, शेर्पा, उच्च हिमाली गाइड, उद्धारकर्मी र सहयोगीहरूप्रति समान सम्मान र हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु नै पर्वतारोहणको नैतिक संस्कृति, सामूहिक उत्तरदायित्व र मानवीय मूल्यप्रतिको सच्चा सम्मान हो।
सबै दिवङ्गतप्रति समान श्रद्धाञ्जली
यस लेखको केन्द्र निर्मल पुर्जाको जीवन, नेतृत्व र योगदान भए पनि, ब्रड पिक दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण पर्वतारोही, उच्च हिमाली गाइड, शेर्पा, उद्धारकर्मी तथा अभियानसँग आबद्ध सबै व्यक्तित्वप्रति समान सम्मान व्यक्त गर्नु नै पर्वतारोहणको नैतिक संस्कृतिसँग मेल खाने दृष्टिकोण हो। पर्वतारोहण कुनै एक व्यक्तिको साहस वा उपलब्धिको कथा मात्र होइन; यो विश्वास, सहकार्य, अनुशासन, व्यावसायिक दक्षता र सामूहिक उत्तरदायित्वको साझा यात्रा हो। प्रत्येक सफल आरोहणका पछाडि अनेकौँ अदृश्य हातहरूको अथक परिश्रम, अनुभव र समर्पण जोडिएको हुन्छ।
त्यसैले यस दुर्घटनामा जीवन गुमाउने सम्पूर्ण नेपाली तथा विदेशी पर्वतारोही, शेर्पा, उच्च हिमाली गाइड, उद्धारकर्मी र सहयोगीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु नै उनीहरूको योगदानप्रतिको सच्चा सम्मान हो। उनीहरूको साहस, समर्पण र व्यावसायिक प्रतिबद्धताले हिमालयलाई विश्व पर्वतारोहणको सर्वोच्च गन्तव्य मात्र होइन, मानव धैर्य, सहकार्य र अदम्य इच्छाशक्तिको अनुपम प्रतीकका रूपमा स्थापित गरेको छ। उनीहरूको स्मृति भावी पुस्ताका पर्वतारोहीहरूका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ।
कीर्तिमानभन्दा ठूलो विचार
यद्यपि यस दुर्घटनामा ज्यान गुमाउने सबैप्रति सम्मान र श्रद्धाञ्जली समान रूपमा अर्पण गर्नुपर्छ, निर्मल पुर्जाको योगदानले आधुनिक पर्वतारोहणको इतिहासलाई नयाँ दिशा दिएको तथ्य पनि उत्तिकै महत्त्वपूर्ण छ। उनले केवल १८९ दिनमा विश्वका १४ वटै आठ–हजारे हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेनन्; उनले नेपाली पर्वतारोहणको विश्वव्यापी कथालाई नयाँ दृष्टिकोणका साथ पुनर्परिभाषित गरे।
दशकौँसम्म नेपाली शेर्पा तथा उच्च हिमाली गाइडहरू अन्तर्राष्ट्रिय पर्वतारोहण अभियानका अपरिहार्य आधारस्तम्भ रहे। उनीहरूको अनुभव, साहस र व्यावसायिक दक्षताबिना विश्वका अधिकांश हिमाली अभियान सफल हुनु कठिन थियो। तर पनि उनीहरू प्रायः पर्दापछाडिका पात्रका रूपमा चित्रित हुन्थे, जबकि अन्तर्राष्ट्रिय चर्चा र गौरवको केन्द्रमा अधिकांश समय विदेशी अभियानहरू रहने गर्थे। निर्मल पुर्जाले यही स्थापित दृष्टिकोणलाई चुनौती दिए। उनले विश्वलाई प्रमाणित गरे कि नेपालीहरू केवल उत्कृष्ट सहयोगी मात्र होइनन्; उनीहरू विश्वकै जटिल हिमाली अभियानको योजना बनाउन, नेतृत्व गर्न, सञ्चालन गर्न र नयाँ मापदण्ड स्थापित गर्न समान रूपमा सक्षम छन्।
उनको अर्को विशिष्ट योगदान आधुनिक सञ्चार, व्यक्तिगत ब्रान्डिङ र प्रभावकारी कथावाचन (Strategic Storytelling) को सशक्त प्रयोग थियो। Project Possible, 14 Peaks: Nothing Is Impossible, Beyond Possible तथा विश्वभर दिएका प्रेरणादायी सार्वजनिक व्याख्यानमार्फत उनले नेपाललाई केवल सगरमाथाको देशका रूपमा मात्र होइन, नेतृत्व, अनुशासन, नवप्रवर्तन, उच्च प्रदर्शन (High Performance) र अदम्य मानवीय क्षमताको प्रतीकका रूपमा पनि स्थापित गरे। यस अर्थमा उनी एक सफल पर्वतारोही मात्र रहेनन्; नेपालको Soft Power विस्तार गर्ने प्रभावशाली सांस्कृतिक दूतका रूपमा पनि स्थापित भए।
उनको जीवनसँग नागरिकताको विषयमा बहस पनि जोडियो। कानुनी रूपमा उनी बेलायती नागरिक भए पनि, आफ्नो जन्मभूमि नेपाल, नेपाली पहिचान र गोर्खाली परम्पराप्रतिको आत्मीयता उनले कहिल्यै लुकाएनन्। सार्वजनिक रूपमा उनले पटक–पटक व्यक्त गरेको भावना—“मेरो मन नेपाली हो, मेरो रगत नेपाली हो”—उनको सम्पूर्ण जीवनयात्रामा प्रतिबिम्बित हुन्छ। उनले आफ्नो अन्तर्राष्ट्रिय प्रतिष्ठालाई व्यक्तिगत सफलतामा सीमित नराखी नेपाल, नेपाली शेर्पा समुदाय र नेपाली नेतृत्वको पहिचानलाई विश्वमञ्चमा स्थापित गर्न निरन्तर प्रयत्न गरे। यही कारण धेरैका लागि उनी कानुनी नागरिकताभन्दा पर उठेर नेपाली आत्मविश्वास, राष्ट्रिय गौरव र नेतृत्व क्षमताका सशक्त प्रतिनिधि बने।
नेपालले अब के सिक्नुपर्छ?
निर्मल पुर्जाको जीवनले नेपाललाई एउटा अत्यन्त स्पष्ट सन्देश दिएको छ ,विश्वमा सम्मान केवल प्राकृतिक सम्पदाले प्राप्त हुँदैन; त्यसलाई ज्ञान, अनुसन्धान, प्रविधि, नेतृत्व, सुरक्षा र प्रभावकारी सञ्चारसँग जोड्न सक्नुपर्छ।
नेपालसँग संसारका सर्वोच्च हिमालहरू छन्। विश्वकै उत्कृष्ट शेर्पा, उच्च हिमाली गाइड र उद्धारकर्मी छन्। दशकौँको अनुभव र अनुपम प्राकृतिक सम्पदा पनि छ। तर विश्व नेतृत्वका लागि यी आधार मात्र पर्याप्त छैनन्। अब पर्वतारोहणलाई परम्परागत पर्यटनको सीमाभन्दा माथि उठाएर ज्ञान, नवप्रवर्तन र उच्च प्रदर्शनको राष्ट्रिय रणनीतिसँग जोड्न आवश्यक छ।
यसका लागि नेपालले केही दीर्घकालीन प्राथमिकतामा केन्द्रित हुनुपर्छ;
उच्च हिमाली खेल विज्ञान (High Altitude Sports Science) अनुसन्धान केन्द्र स्थापना गर्ने।
पर्वतारोहणका लागि VO₂ Max, कार्डियोरेस्पिरेटरी क्षमता, मनोवैज्ञानिक तयारी र जैविक अनुकूलनसम्बन्धी परीक्षणलाई संस्थागत गर्ने।
शेर्पा तथा उच्च हिमाली गाइडका लागि खेल चिकित्सा, पुनःस्थापना विज्ञान (Recovery Science) र मानसिक स्वास्थ्य सेवाको विकास गर्ने।
उच्च उचाइमा मानव कार्यसम्पादन (Human Performance at Altitude) सम्बन्धी अनुसन्धानलाई विश्वविद्यालय र अनुसन्धान संस्थासँग जोड्ने।
निर्मल पुर्जाले आफ्नो जीवनबाट देखाएको बाटो यही थियो; हिमाल केवल प्राकृतिक सम्पदा होइन; यो ज्ञान, नेतृत्व, अर्थतन्त्र, पर्यटन, नवप्रवर्तन र नेपालको Soft Power निर्माण गर्ने रणनीतिक आधार पनि हो।
निष्कर्ष : कीर्तिमानभन्दा अग्लो एउटा विचार
इतिहासले अन्ततः मानिसलाई उनीहरूले कति अग्लो शिखर छोए भन्ने आधारमा मात्र होइन, उनीहरूले अरूलाई कति अग्लो सपना देख्न प्रेरित गरे भन्ने आधारमा पनि सम्झन्छ। यही कारण निर्मल पुर्जाको कथा एउटा असाधारण पर्वतारोहीको जीवनी मात्र होइन; यो नेपाली नेतृत्व, आत्मविश्वास र सम्भावनाको पुनर्जागरणको कथा हो।
१८९ दिनमा विश्वका १४ वटै आठ–हजारे हिमाल आरोहण गर्नु आधुनिक पर्वतारोहण इतिहासको अभूतपूर्व उपलब्धि थियो। तर त्यसको वास्तविक महत्त्व विश्व कीर्तिमानमा मात्र सीमित छैन। उनले दशकौँदेखि स्थापित अन्तर्राष्ट्रिय दृष्टिकोणलाई परिवर्तन गर्दै संसारलाई देखाए कि नेपालीहरू केवल हिमाली अभियानका सहयोगी होइनन्; उनीहरू योजनाकार, रणनीतिकार, नेतृत्वकर्ता र नवप्रवर्तक पनि हुन्। Project Possible ले पर्वतारोहणलाई केवल साहसको खेलबाट नेतृत्व, विज्ञान, जोखिम व्यवस्थापन, समय व्यवस्थापन र उच्च प्रदर्शन व्यवस्थापन (High Performance Management) को विश्वस्तरीय अध्ययन–प्रकरणका रूपमा स्थापित गर्यो।
निर्मल पुर्जाको जीवनले नेपाललाई पनि एउटा गहिरो पाठ सिकायो—प्राकृतिक सम्पदा मात्र पर्याप्त हुँदैन; त्यसलाई ज्ञान, अनुसन्धान, प्रविधि, प्रभावकारी नेतृत्व र सशक्त कथासँग जोड्न सकियो भने मात्र त्यसले दीर्घकालीन राष्ट्रिय शक्ति (National Power) र विश्वव्यापी प्रभाव (Soft Power) निर्माण गर्न सक्छ। उनले नेपालको हिमाली सम्पदालाई विश्वमञ्चमा नयाँ अर्थ र नयाँ पहिचान दिए।
भोलि उनका विश्व कीर्तिमानहरू सम्भवतः तोडिनेछन्। अझ छिटो, अझ कठिन र अझ साहसिक अभियानहरू पनि सम्पन्न होलान्। तर एउटा उपलब्धि इतिहासले सजिलै प्रतिस्थापन गर्न सक्दैन—निर्मल पुर्जाले नेपालीहरूले आफ्नै क्षमतामाथि गर्ने विश्वासको स्तर नै परिवर्तन गरिदिए। यही परिवर्तन नै उनको सबैभन्दा ठूलो विरासत हो।
खेल विज्ञानको दृष्टिले पनि उनको यात्रा केवल साहसको कथा होइन; चरम वातावरणमा मानव शरीर, मस्तिष्क, नेतृत्व र निर्णय क्षमताले कसरी कार्य गर्छ भन्ने जीवित अध्ययन–प्रकरण (Living Case Study) हो। Hypoxia, उच्च उचाइको शारीरिक अनुकूलन, मानसिक सहनशीलता, पुनःस्थापना विज्ञान (Recovery Science) र Human Performance सम्बन्धी सिद्धान्तहरू उनको यात्रामा व्यवहारिक रूपमा प्रतिबिम्बित हुन्छन्। त्यसैले उनको जीवन पर्वतारोहणको इतिहास मात्र होइन, खेल विज्ञान, नेतृत्व अध्ययन र मानव कार्यसम्पादनसम्बन्धी अनुसन्धानका लागि पनि दीर्घकालीन प्रेरणा बन्नेछ।
सायद त्यसैले ‘Nimsdai’ आज एउटा नाम मात्र होइन। त्यो एउटा जीवनदर्शन हो। एउटा नेतृत्वको मानक हो। एउटा राष्ट्रिय आत्मविश्वासको प्रतीक हो। र यस्तो विचार हो, जसले हरेक पुस्तालाई आफ्नै सीमाभन्दा पर सोच्न, असम्भवलाई चुनौती दिन र नयाँ सम्भावनाको शिखर खोज्न प्रेरित गरिरहनेछ।
निर्मल पुर्जाको महानता केवल एउटा विश्व कीर्तिमानमा सीमित छैन। उनले पर्वतारोहणलाई नेतृत्व, रणनीतिक योजना, समय व्यवस्थापन, विश्वव्यापी सञ्चार र व्यक्तिगत ब्रान्डिङसँग जोड्दै नयाँ आयाम प्रदान गरे। यदि रेनहोल्ड मेसनर, उली स्टेक वा आङ रिता शेर्पाजस्ता आरोहीहरू शुद्ध प्राविधिक पर्वतारोहणका सर्वोच्च प्रतिनिधि मानिन्छन् भने, निर्मल पुर्जा आधुनिक उच्च गति, नेतृत्व, व्यवस्थापन र विश्वव्यापी प्रभावको युगका प्रमुख प्रतिनिधिमध्ये एकका रूपमा स्थापित भएका छन्। यही विशिष्ट संयोजनले ‘निम्सदाई’लाई समकालीन विश्व पर्वतारोहणका सबैभन्दा प्रभावशाली र व्यापक रूपमा चिनिएका व्यक्तित्वहरूमध्ये एक बनाएको छ।
हिमालहरू उस्तै रहनेछन्। कीर्तिमानहरू बदलिँदै जानेछन्। तर एउटा विचार—“Nothing Is Impossible”—समयसँगै अझ उचो हुँदै जानेछ। यही विचार, यही प्रेरणा र यही अदम्य विश्वास नै निर्मल ‘निम्सदाई’ पुर्जाको सबैभन्दा अग्लो शिखर हो।
लेखक: दुर्गाराज पाठक
(लेखक खेलकुद विज्ञान स्नाकोत्तर तह तेस्रो समेस्टरका विद्यार्थी हुन् )
सम्बन्धित खबर
विदुर–५ मा सुविधासम्पन्न तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुख श्रेष्ठद्वारा शिलान्यास
नुवाकोट । विदुर नगरपालिका–५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको सुविधासम्पन्न तरकारी संकलन केन्द्रको नगरप्रमुख राजन श्रेष्ठले शिलान्यास गर्नुभएको छ। स्थानीय कृषकको उत्पादनलाई व्यवस्थित रूपमा संकलन, भण्डारण तथा बजारसम्म सहज रूपमा पु-याउने...
तारकेश्वरमा जनप्रतिनिधि र कर्मचारीले बालबच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने
नुवाकोट । तारकेश्वर गाउँपालिकाले सरकारी सेवा एंव सुविधा लिनेले आफ्नो सन्तानलाई अनिर्वाय रुपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।
आज बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गर्नु भएको प्रस्ता...
वर्षाले प्रभावित खेलमा ओमानसँग हार्यो नेपाल
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग डीएलएस नियमका आधारमा १०२ पराजित भएको छ । लिग–२ मा नेपालकाे याे १४औँ हार हाे ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज ओमानले दिएको ३०६...
बालेन शाहले शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा प्रधानमन्त्रीको शपथ लिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि पर्सि शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।
शाहको सचिवालयकाअनुसार शुक्रवार दिउँस...
युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।
क...
निजी मिडियामा सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
काठमाडौँ । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडि...
© Copyright 2026 kakanikhabar. All rights reserved.
Developed By : Dkedartech-7


