झापा । प्रहरी हिरासतमा दलित नाबालकको मृत्यु प्रकरण सम्बन्धमा गलत सूचना दिने प्रहरी अधिकारीकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालय झापाले छानबिन समिति बनाएको छ । जिल्लाका प्रहरी प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।
प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले १५ वर्षीय नाबालक किरण कार्कीडोली दर्जीको पहिचान लुकाई १९ वर्षीय भारतीय नागरिक भएको र उनले थुनुवा कोठामा आत्महत्या गरेको सूचना ४ वैशाखमा म्यासेन्जरमार्फत नयाँ पत्रिकाकर्मीलाई दिएका थिए । जबकि, प्रहरीले दर्जीको शव २ वैशाखमा परिवारलाई जबर्जस्ती बुझाएकै दिन उनी नेपाली नागरिक भएको र १५ वर्ष पूरा भएको खुलिसकेको थियो ।
सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति बनाएको हो । छानबिन समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव अधिकारी र असइ नवराज थापा छन् । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
डिएसपी सुवास खड्कालाई निलम्बन गर्न माग :
घटना सार्वजनिक भएपछि झापाका दलित अधिकारकर्मीले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सुनियोजित रूपमा नाबालकको हत्या गरेको दाबी गरेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्कालाई तत्काल निलम्बन गर्न माग गरेका छन् । अधिकारकर्मीसहितको उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने दलित अधिकारकर्मीको माग छ । ‘प्रहरीले भनेभन्दा फरक ढंगले बालकको मृत्यु भएको छ, त्यसकारण प्रहरीभित्र बनेको छानबिन समिति हामीलाई स्वीकार्य छैन,’ उत्पीडित अधिकार मञ्च झापाका अध्यक्ष टीकाराम मंग्रातीले भने ।