काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले जनधनको क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।
सांसदहरूले बाढीपहिरोबाट पीडित परिवारको सुरक्षामा जोड दिँदै बाढीपहिरोका जोखिममा भएका जनताको सुरक्षा, उद्धार र घाइतेलाई उपचारमा ध्यान दिन माग गर्नुभयो ।
सांसदहरुले देशै भरी ग्याँसको अभाव रहेको भन्दै सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था गर्न तथा ग्यासको समस्याको दीर्घकालीन समाधानका लागि भान्सालाई विद्युतीय चुलो तर्फ लैजान सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले डोल्पा सडक मार्गबाट विच्छेद भएको र भेरी करिडोर अवरोध हुँदा खाद्यान्न लगायतको आपूर्तिमा समस्या भएको भन्दै वैकल्पिक मार्गको व्यवस्थापन गर्न माग गर्नुभयो ।
सांसदहरुले अविरल वर्षाका कारण सङ्खुवासभाको विभिन्न स्थानमा विद्युत् प्रसारण लाइन र नेटवर्क टावरहरूमा अवरोध भएका कारण स्थानीय जनता मारमा परेको तथा सञ्चार सेवाबाट वञ्चित हुन परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले पछिल्ला वर्षहरुमा सडक दुर्घटना परि मृत्यु हुनेको संख्या निक्कै बढ्दै गएको भन्दै सडक दुर्घटना न्युनिकरणका लागि समयमा नै ध्यान दिन माग गर्नुभयो ।
उहाँहरूले साँघुरो सडक, व्यस्त सडक, चालकको लापरवाही, तीव्र गति मादक पदार्थको सेवन र मोवाइलफोनको प्रयोग गरी सवारी साधन चलाउने लगायतका कारण दुर्घटना बढेको पनि बताउनुभयो ।
सांसदहरुले ठूलो बथानसहित भारतबाट नेपाल छिरेका हात्तीको कारण झापा तीनका नागरिक प्रताडित बनेको, हात्तीले धान खेती नष्ट गरिरहेको तथा घर भत्काउने र जुनसुकै बेला आक्रमण गर्ने त्रासमा नागरिक रहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै नागरिकको सुरक्षाको माग गर्नुभयो ।