आइतबार, जेष्ठ ६ २०८१

महाभारतको युद्ध हुनुमा द्रौपतिको महत्त्वपूर्ण भुमिका थियो।


  • ककनी खबर
  • बुधबार, जेष्ठ २ २०७५

पाण्डवहरूकी श्रीमती तथा पाञ्चाल नरेश द्रुपदकी पुत्री द्रौपदीलाई महाभारत युद्ध हुनुपछाडिका सबैभन्दा ठूलो कारण मानिन्छ । उनको जन्म पनि हस्तिनापुरका गुरु द्रोणचार्यसँग बदला लिनका लागि द्रुपदले गराएको यज्ञबाट दाजु धृष्टद्युम्नसँगै भएको थियो । महाभारतको कथा अनुसार दुर्योधन इन्द्रप्रस्थमा बेला द्रौपदीले गरेको खिसी नै पछि युद्धको कारण बनेको थियो ।

इन्द्रप्रस्थमा दैत्यराज मयले बनाइदिएको भव्य दरबार थियो । उक्त दरभारमा जमिनमा पानीको तथा पानीमा जमिनको भ्रान्ति हुन्थ्यो । त्यस्तो स्थलमा हिँड्दा दुर्योधन भ्रमित बनेका थिए । उनले पानी धनेर होसपूर्वक, लुगा स्याहारेर टेको ठाउँ जमिन हुन्थ्यो भने जमिन भन्ठानेर टेकोको ठाउँ पानीमा पथ्र्यो । यो देखेर द्रौपदी ‘अन्धाको छोरो अन्धो नै हुन्छ’ भन्दै जोडले हाँसेकी थिइन् जसले दुर्योधनको अभिमानमा गहिरो चोट पुर्‍यायो ।

दुर्योधनले आफूमाथि भएको अपमानको बदला जसरी भए पनि लिने उपायको खोजी गरे । शकुनीले यसमा सहयोग गरे । पाण्डवहरूलाई जुवा खेल्न हस्तिानापुर बोलाए र जुवामा उनीहरूको सबै राज्य जितेपछि द्रौपदीलाई समेत जितेर सभामा ल्याई दासी भन्दै नाङ्गो बनाउने प्रयास गरे । यसको परिणामस्वरूप कौरव र पाण्डवका बीच कहिल्यै मेटिन नसक्ने वैमनस्य एवं शत्रुताले प्रवेश पायो । यो महाभारत युद्ध हुनको सबैभन्दा ठूलो कारण बन्यो । द्रौपदीले दुःशासनको रगतले ननुहाएसम्म आफ्नो चुल्ठो नबाँध्ने प्रतिज्ञा गरेकी थिइन् ।

पाण्डवहरूले बार्‍ह वर्ष वनवास र एक वर्ष गुप्तवासको शर्त पूरा गरेपछि दुर्योधनसँग राज्य फिर्ता मागे । युद्ध हुने भयो किनभने दुर्योधनले सियोको टुप्पोबराबरको जमिन पनि पाण्डवहरूलाई नदिने बताए । यसअघि श्रीकृष्ण शान्तिदूत बनेर हस्तिनापुर जाने क्रममा युधिष्ठिरले कौरवहरूसँग मिल्दा शान्ति हुन्छ, मारकाट हुँदैन भनी सकेसम्म सन्धि गर्नुपर्ने कुरा गरेका थिए।

त्यतिखेर द्रौपदीले रिसाउँदै यी लाछी पाण्डवहरू युद्ध गर्न चाहँदैनन् भने घरमै बसून्, म आफ्ना दाजुभाइ, बूढा बाबु तथा बालक छोराहरूलाई लिएर आफैं युद्ध मैदानमा जान्छु भनिन् । यसबाट जसरी पनि युद्ध गर्नैपर्ने द्रौपदीको मनोभाव छर्लङ्ग हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार