आइतबार, जेष्ठ ६ २०८१

बट्टार बजार झुमाए मंगोलियन हर्टका गायक राजु लामाले


  • ककनी खबर
  • शुक्रबार, कार्तिक २३ २०७५

कार्तिक २३ बट्टार नुवाकोट,
आफ्नो स्थापना कालको २५ औं बार्षिक उत्सव मनाईरहेको नेपालको चर्चित सांगीतिक समुह मंगोलियन हर्टले शुभ दिपावली २०७५ को उपलक्ष्यमा शुभकामना आदानप्रदान सहित हिजो नुवाकोटको बट्टारमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरेको छ ।

बट्टार युवा क्लब र बट्टार ब्रदर्स ग्रुपको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मंगोलियन हर्टका गायक राजु लामाले आफ्ना नयाँ र पुराना सहित एक दर्जनभन्दा बढी चर्चित गितहरु प्रस्तुत गरेका थिए । लगभग दुई घन्टा स्टेजमा बिताएका मंगोलियन हर्ट समुहले मेरो नेपाल बोलको गितबाट आफ्नो प्रस्तुति सुरु गर्दै पर्खाईमा,म माया लाउदिन,लाको माया लाईन नभन,भाईटिकामा भेट्न आउला,तिमिलाई देखेर,बादल पारिको देशबाट,उभो उभो खासा,गाजलु टीका,नतानु त तानु लाग्ने,सायद तिम्रो बाटोमा जस्ता चर्चित गितहरु प्रस्तुत गर्दै दर्शकलाई झुमाएका थिए ।

गायक लामाले मंगोलियन हर्टले बीस बर्ष अघि नुवाकोटमा सांगीतिक कार्यक्रम प्रस्तुति गरेको र त्यस समय र आजको बाताबरणमा निकै परिवर्तन पाएको अनुभव सुनाएका थिए । साथै ब्यान्डले आफ्नो २५ औं बार्षिक उत्सव अन्तर्गतका कार्यक्रम नुवाकोटमा पनि गर्न पाएकोमा आफू निकै खुशी र भाग्यमानी भएको समेत बताउदै आयोजकलाई धन्यवाद समेत दिए । लामो समयदेखी अमेरिकामा बस्दै आएका लामा र उनको समूह मंगोलियन हर्टले दर्जनौं चर्चित गितहरु,९ वटा एल्बम र ६० भन्दा बढी देशमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ भने ब्यान्ड आफ्नो नयाँ एल्बमको तयारीमा समेत रहेको छ ।

शुभ दिपावली र नेपाल सम्बतको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने उदेश्य सहित हरेक बर्ष जसो यस बर्षपनि कार्यक्रम गरेको र यसले अर्को बर्ष पनि निरन्तरता पाउने आयोजक बट्टार युथ क्लबका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए । पछिल्लो समय नुवाकोटमा पनि राष्ट्रिय कलाकारको नजर परेको र राष्ट्रिय स्तरको कन्सर्ट हेर्न राजधानी लगायत अन्य शहरमा जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्दै सबैको साथ र सहयोग भएमा नुवाकोटमा पनि यस्ता कार्यक्रमहरु हुन सक्छ भन्ने सन्देश दिनपनी यो कन्सर्ट गरिएको र कार्यक्रम भब्यताको साथ सम्पन्न भएको कार्यक्रम संयोजक सुरज श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार