आइतबार, जेष्ठ ६ २०८१

नुवाकोट बन्दले जनजीवन प्रभावित


  • ककनी खबर
  • आइतबार, माघ ६ २०७५

माघ ६ बिदुर/ नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजना अन्तर्गतको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित स्थानीयहरुले मुआब्जा नपाएको बिषयलाई लिएर आज नुवाकोट बन्द गरेका छन् ।

बन्दको प्रभाव नुवाकोटको साथसाथै छिमेकी जिल्ला रसुवामा समेत परेको थियो । बन्दको कारण यातायात, शैक्षिक संस्थाहरु ,बितिय संस्थाहरु पुर्ण रुपमा प्रभावित भएका थिए ।

पिपलटार,बट्टार,बिदुर, गङ्गटे, ढुङ्गे जस्ता स्थानहरुमा बन्दकर्ताहरुले बिहान देखि सडकमा आगो बाल्दै नाराबाजी सहित सडकमा सवारी आवातजावत ठप्प पारेका थिए । बन्दकर्ताले एम्बुलेन्स, खानेपानी, दुध, तरकारी, सुरक्षा निकाय, प्रेस र छुटफुट मोटरसाइकल बाहेक अन्य सवारी साधनलाई पुर्णरुपमा ठप्प पारेका थिए ।

बन्दले समस्याको समाधान नहुने बताउदै जनतालाई अनावश्यक दु:ख दिन नपाउने भन्दै कतिपय सडकमा हिड्ने यात्रुले बन्दकर्ता माथी आक्रोश पोखेका थिए भने आफुहरु बिकाशको बिरोधी नभएको जिकिर गर्दै राष्ट्रिय गौरवको योजनाको नाममा जनतालाई सुकुम्बासी बनाउने अधिकार सरकारलाई छैन भनी अविलम्ब मुआब्जा बितरण गर्न बन्दकर्ताले सरकार र सडक आयोजनालाई माग गरेका थिए ।

सडक आयोजनले भने २०३४ सालको राजपत्रमा पासाङल्हामु मार्गको बालाजु-ककनी-त्रिशूली सडकखण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार