आइतबार, जेष्ठ ६ २०८१

श्रीलंकाको चर्चहरुमा शृङ्खलाबद्ध बम विस्फोट, मृत्यु हुनेको सङ्ख्या दुईसय नाघ्यो


  • ककनी खबर
  • आइतबार, बैशाख ८ २०७६

एजेन्सी । श्रीलंकामा आइतबार बिहान लगातार ६ स्थानमा बम विस्फोट हुदाँ त्यसमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय नाघेको छ । सयौ मानिस घाइते छ भने केही सम्पर्क बिहिन भएका छन् । बिहान लगातार ६ स्थानमा र दिउसो थप दुई स्थानमा बम विस्फोट भएको त्यहाँको सरकारी अधिकारीहरुले बताएका छन् । आइतबार साँझसमम २०७ जनाले ज्यान गुमाइसकेको र करिब चार सय भन्दा बढी घाइते भएको श्रीलंकाका प्रहरी प्रवक्ताले जानकारी दिएको बीबीसी अनलाईनले समाचार लेखेको छ ।

श्रीलंकामा कम बाहुल्य भएको क्रश्चियन समुदाय इस्टर पर्व मनाउन व्यस्त भएको मौकामा चर्च र होटलहरुमा श्रृङ्खलाबद्ध रुपमा  ६ वटा विस्फोट गराइएको हो । श्रीलंकाको राजधानी कोलम्बो,  मुख्य शहर नेगोम्बो र बाटीकालोआमा लगायतका स्थानमा शक्तिशाली बम विस्फोट भएको थियो भने दिउँसो देहिवाडाको एउटा होटलमा र आठौं पटक डेमाटागोडामा बम विस्फोट भएको थियो ।

ती विस्फोट परेर नौ जना विदेशी नागरिकको समेत ज्यान गएको त्यहाको प्रहरीले पुष्टि गरेको छ। जसमा एक जना चिनीयाँ नागरिक भएको पिपुल्स डेलीले जनाएको छ । अन्य नागरिकहरु कुन राष्ट्रका भनेर खुल्न सकेको छैन ।

दक्षिण एसियामा त्रास
श्रीलंकामा भएको आतंकवादी हमलाले दक्षिण एसिया भर नै त्रास फैलाएको छ । श्रीलंका सरकारले आइतबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ । सामाजिक सञ्‍जालले भ्रामक समाचार फैलाएको भन्दै फेसबुक, इन्स्टाग्राम लगायतका सञ्‍जालहरु बन्द गरिएको छ ।

विश्वभरबाट उक्त आतंककारी हमलाको घोर भर्त्सना भइरहेको छ ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हमलाप्रति दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षी मार्फत श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको सचिवालयले जनाएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले बिस्फोटमा परी ज्यान गुमाउनेप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले फोन संवादका क्रममा नेपाल सरकारले जुनसुकै रंग र रुपको  आतंकवादको विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुसार मानवता विरोधी  घटनाको भत्सर्ना  गरेको बताए ।
यसैगरी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्टर सन्डेमा भएको विस्फोटमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली अपर्ण गरेका छन् । उनले ट्विट गर्दै आवश्यक सहयोग गर्न तयार भएको समेत बताएका छन् ।

टर्कीका राष्ट्रपति रसेप टाइप इर्डोगन सम्पूर्ण मानवमाथिकै ठाडो प्रहार भएको बताएका छन् । उनले ट्विटमा इस्टरमा भएको आतंकवादी हमला मानवमाथि नै प्रहार भएकोले घोर भर्त्सना गर्दछु । टर्कीका नागरिककातर्फबाट उक्त विस्फोटमा ज्यान गुमाउने सम्पूर्णलाई हार्दिक श्रद्धान्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेका छन् ।

त्यसैगरी जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, यूरोपियन कमिसनका सभापति जिन क्लाउड जन्केरलगायतले पनि हमलाको घोर भर्त्सना गर्नुका साथै विस्फोटमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली र आफन्तलाई समवेदना तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पोप फ्रान्सिसले पनि उक्त क्रूरतापूर्ण हमलाको निन्दा गरेका छन् । इरानका विदेशमन्त्री जाभाड जारिफले ट्वीट गर्दै आत‌ंकवादको कुनै धर्म नहुने भएकोले विश्वव्यापीरुपमा हमला भइरहेको बताएका छन् । उनले मृतकप्रति श्रद्धान्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्त रहन जनतालाई अपिल गरेका छन् । सुरक्षाको उचित बन्दोबस्तका लागि सुरक्षाकर्मी खटाइएको र आक्रमणकारीको खोजी गर्ने उनले बताएका छन् । श्रीलंकाका अर्थमन्त्री मंगल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोट गराइएको भन्दै प्रजातन्त्र,  स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।

अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । तर श्रीलंकाका रक्षामन्त्री रुवान विजेवर्दनेले यस घटनालाई आतंककारी घटना भन्दै दोषी पहिचान भइसकेको र चाडै संलग्नहरु पक्राउ पर्ने दाबी गरेका छन् ।
उनले घटनाबारे गुप्तचर निकाय,  प्रहरी र सेनाले अनुसन्धान गरिरहेको भन्दै देशमा सञ्चालित कुनै पनि अतिवादी समूहविरुद्ध कारबाही गर्ने घोषणा पनि गरेका छन् । उनले आवश्यक कारबाही गर्ने र जुनसुकै धार्मिक अतिवादमा लागेका भए पनि छौड्दैनौँ भनेका छन्  । उनले आठवटा विस्फोटमध्ये अधिकांश आत्मघाती विस्फोट गराएको बताएका छन् ।

सात जना पक्राउ
बेलायती समाचार सँस्था बीबीसीका अनुसार हमलामा संलग्न भएको अभियोगमा सात जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । जसमा दुई जनालाई डेमाटोगोडा र अन्या पाँच जनलाई कोलम्बोबाट नियन्त्रणमा लिइएको हो । लाइभ मिन्ट डटकमका अनुसार आक्रमणको प्रकृति हेर्दा इस्लामिक स्टेट अट्‍याकु आईएस हमला भएको बताइएको छ । तर, फरेन्सिकले कस्तो प्रकारको विस्फोटक पदार्थ प्रयोग भएको भन्‍ने पुष्टि गर्न बाँकी रहेको जनाएको छ । त्यहाँको गुप्तचर निकायले हमलाको प्रकृति र अन्य सम्पूर्ण विस्फोटको विषयमा अनुसन्धान गरिरहेको छ ।

यो हमला विश्वकै ध्यान तान्‍ने रणनीतिका साथ योजनाबद्ध तरिकाले गराइएको हुनसक्ने बताइएको छ । यसमा हामीले दुई कुरालाई विशेष ध्यान दिनुपर्दछ । पहिलो कुरा यो आत्मघाती विस्फोट गराइएको हो । अर्को भनेको भारत र इन्डोनेसियाबाट आईएसले कब्जामा लिइएका युवाहरुलाई यसमा प्रयोग गरिएको हो । तर, यो हमला कसले गराएको भन्ने यकिन भने भइसकेको छैन भनेका छन् ।

श्रीलंकामा आतंकवादको ठूलो इतिहास छ । लिबरेसन टाइर्गस अफ तामिलले लामो समय त्यहाँ आतंक सिर्जना गरेको थियो । तर, यो हमलामा भने तामिल टाइगरको कुनै संग्लनता नभएको समाचार संस्थाहरूले जनाएका छन् । सन् २००९ मा सुप्रिमो भेलुपिल्लिया प्रभाकरणलाई श्रीलंकन सेनाले हत्या गरेपछि तामिल टाइगरको अस्तित्व समाप्त भइसकेको छ । यसमा कुनै पनि तामिल समूहका व्यक्तिको संलग्नता नभएको ती अधिकारीले लाइभ मिन्टलाई बताए ।

पाकिस्तानमा पनि सुरक्षा सर्तकता बढाइयो
श्रीलंकाको गिर्जाघरमा हमला भएपछि पाकिस्तानमा रहेका चर्च घरहरुमा  पनि सुरक्षा सर्तकता बढाएको छ । त्यहाँ पनि हमला हुनसक्ने सम्भावना रहेको औंल्याउँदै सुरक्षा सर्तकता बढाएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार