आइतबार, जेष्ठ ६ २०८१

जिल्ला अस्पताल नुवाकोटका लागि एक थान भेन्टिलेटर


  • ककनी खबर
  • बुधबार, साउन २८ २०७७

२७ साउन, नुवाकोट ।

नुवाकोटको त्रिशुली जिल्ला अस्पतालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक थान भेन्टिलेटर उपलब्ध गराएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता एवं बागमती प्रदेशका नेकपाका सचेतक केशव पाण्डेको पहलमा मन्त्रालयले एक थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर सांसद पाण्डे नेतृत्वको नेकपा नुवाकोटको टिमले जिल्ला अस्पतालका लागि एक थान भेन्टिलेटर उपलब्ध गराइदिन अनुरोध गरेको भेटमा सहभागी नेकपा नुवाकोटका सचिवालय सदस्य नारायण घिमिरेले जानकारी दिनुभयो । भेटमा नेकपा नुवाकोटका सचिवालय सदस्यद्धय काशिराज अधिकारी र गणेश श्रेष्ठ पनि सहभागी रहनु भएको थियो । मंगलबार मात्रै चौधरी ग्रुप अन्तर्गतको चौधरी फाण्डेसनले स्वास्थ्य मन्त्रालयका लागि ८ थान पोर्टेबल भेन्टिलेटर उपलब्ध गराएको थियो ।जिल्ला अस्पताल त्रिशुलीका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन नुवाकोट सरोकार समाजले समेत विभिन्न संस्था र मन्त्रालयहरूमा निरन्तर लबिङ गरिरहेको छ । तीन जिल्लाका नागरिकले उपचार लिने त्रिशुली अस्पतालमा भेन्टिलेटर उपलब्ध गराउने निर्णय गरेर स्वास्थ्य मन्त्रालयले निकै महत्वपूर्ण काम गरेको भन्दै समाजका महासचिव अनुजकुमार श्रेष्ठले समाजले अब अत्याधुनिक ल्याब र रक्तसञ्चार केन्द्र स्थापनाका लागि काम गर्ने  बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार